You are viewing the translated version of फस्यौंट हुन बाँकी रकमको लेखा र बरबुझारथ.

Rule 52
फस्यौंट हुन बाँकी रकमको लेखा र बरबुझारथ
(१) सरकारी कामकाजको लागि पेश्की दिएको रकम सोही आर्थिक वर्षभित्र फस्यौंट हुन नसकेमा कार्यालय प्रमुखले त्यसरी फस्यौंट हुन बाँकी रहेको पेश्की रकम, पेश्की लिनेको नाम थर, स्थायी तथा अस्थायी ठेगाना, सम्पर्क फोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना सहित कुन काम बापत पेश्की दिएको हो सो समेत खुलाई अर्का आर्थिक वर्षमा जिम्मेवारी सारी प्रमाणित गर्नु पर्नेछ।
(२) कार्यालय प्रमुख आफू सरुवा, बढुवा वा अवकाश भई वा अन्य कुनै कारणले कार्यालय छोड्नु परने भएमा निजले कार्यालयबाट फस्यौंट गर्न बाँकी पेश्की रकमको विवरण तयार गरी हालवालालाई बरबुझारथ गर्नु पर्नेछ।
(३) कार्यालयले प्रचलित कानून बमोजिम दिएको पेश्कीको म्याद नाघेको र म्याद ननाघेको छुट्टाछुट्टै अभिलेख राख्नु पर्नेछ। केन्द्रीय निकायले सोको एकीकृत लगत बनाई महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्नु पर्नेछ।
(४) लेखापरीक्षण गर्ने निकायले फस्यौंट हुन बाँकी पेश्की रकमलाई आन्तरिक तथा अन्तिम लेखापरीक्षणको प्रतिवेदनमा समावेश गर्नु पर्नेछ।
तर नियमानुसार म्याद ननाघेको पेश्की रकमलाई बेरुजु मानिने छैन।
(५) कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षण गर्दा पेश्कीको जिम्मेवारी सारे वा नसारेको र म्यादभित्र पेश्की फस्यौंट गरे वा नगरेको समेत हेरी लेखापरीक्षण प्रतिवेदन तयार गर्नु पर्नेछ।